
- श्रावण – १०- मध्यपुर थिमि नगरपालिका द्वारा यस वर्ष संचालित बृहत सरसफाई अभियान अन्तर्गत अरनिको राजमार्ग खण्ड पर्ने मथिनपा वडा नं ९ राधे – राधे देखि वडा नं १ लोकन्थली वडा कार्यालय सम्मको सडक खण्ड र सडक आसपासका सडक पेटीमा श्रावण ७ गते आईतबार देखि विशेष सरसफाई कार्यक्रम सुरु गरिएको छ ।जस अन्तर्गत सडक पेटीमा रहेका फोहोरहरुको सरसफाई ,बिग्रिएका भत्किएका संरचना पूर्ण निर्माण , अव्यवस्थित उम्रेका घाँसहरुको व्यवस्थापन एबम सडक को मध्यभागमा रहेका बगैंचाहरुको गोडमेल एबम बिरुवाहरूको काटछाँट र सरसफाई कार्यक्रम कार्यन्वयनमा ल्याइएको छ।साथै बिगतमा जस्तै थप संख्यामा बृक्षारोपण गदै लगिने पनि नगरपालिका श्रोतले जनाएको छ ।
यस वर्ष घोषित रुपमै मध्यपुर थिमि नगरपालिकालाई सुन्दर ,सफा र हराभरा बनाउने लक्ष्य अनुरुप सो कार्यक्रम ल्याइएको हो ।हालैका दिनमा नगरपालिकाले नगरका विभिन्न चोक ,गल्ली क्षेत्रको सरसफाई तथा मर्मत कार्यलाई कार्यन्वयनमा ल्याइएको छ । यसै क्रममा मध्यपुर थिमि नगरपालिकाका कोर एरियामा निःशुल्क साप्ताहिक फोहोर संकलन कार्यलाई समेत अघि बढाइएको छ ।देशकै प्रमुख राजमार्ग ८ लेनको सडक खण्डलाई हराभरा ,सुन्दर र झिलिमिली बनाइने उद्देश्य अनुरुप नगरपालिकाले यो कदम चालेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर डायरी डट कमलाई जानकारी गराउनुभयो। राजमार्ग आसपासका सडक पेतिलाई सुरक्षित बनाउने हेतुले वडा नं १ स्थित मनोहरा पुल देखि वडा नं ९ स्थित
हनुमन्ते पुल सम्मको दूरीलाई विशेष प्राथमिकतामा राखी सरसफाई अभियानलाई तिब्रता दिईएको नगर प्रमुख
सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
पछिल्लो समय नगरभित्रका टोल बस्ती सडक ,चोक र गल्लीहरूमा सरसफाई अभियानले तिब्रता पाएसँगै देखिने गरी परिवर्तनहरू देखिएका छन् ।नगरवासीहरुले पालिकाको यो कदमलाई सकारात्मक रूपमा लिएका छन्।

