
मध्यपुर थिमि, भक्तपुर मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नि:शुल्क निमोनिया विरुद्धको खोप अभियानको दोस्रो चरण सुरु गर्ने भएको छ। नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार आगामी बैशाख ९ गतेदेखि ११ गतेसम्म नगरका विभिन्न स्वास्थ्य केन्द्रहरूमा यो अभियान सञ्चालन हुनेछ। को-को हुन सक्छन् सहभागी? यो अभियान विशेष गरी ७५ वर्ष उमेर पुगेका र सोभन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि लक्षित गरिएको छ। खोप लगाउन आउने नागरिकले नगरपालिकाको वडा कार्यालयबाट जारी गरिएको सामाजिक सुरक्षा भत्ता परिचय-पत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। साथै, ज्येष्ठ नागरिकको सुरक्षा र सहजताका लागि परिवारका कम्तीमा एक जना सदस्य अनिवार्य उपस्थित हुन समेत नगरपालिकाले अनुरोध गरेको छ।
खोप तालिका र स्थानहरू खोप कार्यक्रम बिहान १०:३० बजेदेखि दिउँसो २:३० बजेसम्म चल्नेछ। वडा अनुसार खोप लगाउने मिति र स्थान निम्न बमोजिम तोकिएको छ: बैशाख ९ गते (बुधबार): वडा नं. ४, ५ र ६ का लागि बालकुमारी स्वास्थ्य चौकी, भुलानखेल शहरी स्वास्थ्य केन्द्र र पाटी विहार। बैशाख १० गते (बिहीबार): वडा नं. १, २ र ३ का लागि लोकन्थली स्वास्थ्य चौकी (पुरानो भवन), जातिगाल शहरी स्वास्थ्य केन्द्र र कौशलटार शहरी स्वास्थ्य केन्द्र। बैशाख ११ गते (शुक्रबार): वडा नं. ७, ८ र ९ का लागि नगदेश स्वास्थ्य चौकी, बोडे शहरी स्वास्थ्य केन्द्र, बोडे स्वास्थ्य चौकी र निकोशेरा शहरी स्वास्थ्य केन्द्र। नगरपालिकाले यो अवसरको सदुपयोग गरी आफ्ना परिवारका ज्येष्ठ सदस्यहरूलाई सुरक्षित राख्न सम्पूर्ण नगरबासीहरूमा अपिल गरेको छ।
More Health News

