चैत्र -८ अभिनेता तथा मोडल पल शाह बिरुद्ध मंगलबार बालिका बलात्कारको अभियोगमा १४ बर्ष जेल सजायको माग सहित तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता गरीएको छ ।बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
साथै पलका म्यानेजर कृष्ण जोशि माथि पनि बालिका बलात्कार प्रकरणमा मतियारको भूमिका खेलेको भन्दै उनलाई पलमाथि हुने सजायको आधा सजाय मागदाबी सहित मुद्दा दर्ता गरिएको छ ।
साक्षीको बयान, घटना विवरण कागज, वारदातस्थलमा रहेको पुष्टि हुने प्रमाण, अभियुक्त र आरोपीबीचको संवादको कल डिटेल्स आदिलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको बताईएको छ ।
फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा अभिनेता पल शाहविरुद्ध उजुरी दर्ता भएको थियो । यस सम्बन्धमा पल शाहले भने हालसम्म पनि पीडित बालिकासँग प्रेम वा यौन सम्बन्ध केही नरहेको भन्दै जबरजस्ती करणीको आरोप झुठो रहेको बताउँदै आएका छन ।