कार्तिक ११ रासस -पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ ।
एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन ।

एमाले जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा बुधबार बन्द सत्र सुरु हुन नसकेको जानकारी दिँदै आजदेखि बन्द सत्र सुरु गरिने बताए । चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बिहानैदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्वमा सहमतिको प्रयास जारी रहेको उनले जानकारी दिए । उनले सकेसम्म चुनाव नगर्ने र सबैको सहमतिमा सर्वसम्मति नेतृत्व चयन गर्ने प्रयास भइरहेको जनाउँदै सहमति हुन नसके प्रजातान्त्रिक पद्धतिबाट निर्वाचनबाट नेतृत्व चयन गरिने बताए ।
यता सूर्यविनायक नगर कमिटीको बन्द सत्रमा पनि साँझ ६ बजेसम्म सहमतिको प्रयास जारी राखे पनि सहमति हुन नसकेको प्रतिनिधिले बताएका छन् । सबै वडाबाट २७५ प्रतिनिधि छनोट भएर आएकामा नगर अधिवेशनका ७५ सिटका लागि सबैले उम्मेदवारी फाराम भरेपछि थप समस्या भएको जनाइएको छ ।

चारवटै तहमा नेतृत्व मिलाउने प्रयासमा एमालेका नेता महेश बस्नेत, सोम मिश्र, जिल्ला अध्यक्ष देउजा, नेता वासुदेव थापा, मदनसुन्दर श्रेष्ठलगायत लागिपरेका छन् । एमालेको नयाँ विधानअनुसार नगर कमिटी ७५ सदस्यीय हुनेछ । त्यसमा पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव चयन हुनेछन् । सोमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने र पदाधिकारीमा एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।