२५ कात्तिक- एक नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।भारतको बैंग्लोर
विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट १५ करोड बराबरको नगद र गहना चोरिएको भन्दै तीन दिनअघि बैंग्लोर प्रहरीमा उजुरी दिएका हुन् ।
घरका मालिका जैनले घरको लकरबाट ती सामानहरू चोरिएको बताएका छन् र यसमा उनका नेपाली कर्मचारी नवराज र उनकी पत्नी संलग्न रहेको दाबी गरेका छन् ।
नवराजले ६ महिनाअघि स्टोरमा काम थालेका थिए र उनलाई बस्ने ठाउँ नभएपछि घरको बेसमेन्टमा रहेको सुरक्षा गार्डको कोठामा बस्न दिएको बताइएको छ । त्यसक्रममा उनकी श्रीमतीले जैनको घरायसी काममा पनि सहयोग गर्दै आएको समाचारमा भनिएको छ ।
प्रहरीले बताएअनुसार, सामान चोरी भएका बेला जैन र उनको परिवार धार्मिक कार्यका लागि गुजरात गएको थियो । त्यही बेला नवराजले श्रीमती र थप दुई जना अज्ञात व्यक्तिको सहयोगमा घरमा प्रवेश गरेर सम्पति चोरी लगेको आरोप लगाइएको छ ।
स्थानिय पत्रिका डेकन हेराल्डका अनुसार, प्रहरीले उनीहरु नेपाल भागिसकेको आशंका गरेको छ ।