समाचार समाज

बन्यजन्तु फोटोग्राफर संजय था द्वारा पहिलो पल्ट मनोहरामा भेटाए भद्राई चरा

Buzz Education

तराईको रैथाने भद्राई (चित्रक) सोमबार दिउँसो भक्तपुरको मनोहरामा भेटिएको छ । पक्षी अनुसन्धाता सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले सोमबार दिउँसो ४ बजे आसपासमा भाले चित्रक भेटेका हुन्।

 

मध्यपुर बोडेका संजय था श्रेष्ठ विगत ६ वर्षदेखि मनोहरा र काठमाडौं उपत्यकाका विभिन्न भेगमा नियमित चरा अनुगमनमा क्रियाशील छन्। भद्राई भेटिएसँगै मनोहरामा अभिलेख भएका आगन्तुक र रैथाने पक्षीको सङ्ख्या २३९ पुगेको छ। गत वर्ष मनोहारामै पानी गौँथली, सेतो जुँगे बगेडीलगायतका पक्षी फेला परेका थिए।

 

विज्ञहरूका अनुसार मनोहरामा भेटिएको चित्रक तराईको खयरको जङ्गल आसपासका गाईबस्तु चर्ने झाडी र बुट्यायनमा पाइन्छ। किरा, फट्याङ्ग्रा खाने, पूर्वदेखि पश्चिम तराईको रैथाने भद्राई काठमाडौंमा यसअघि अभिलेख नभएको पक्षीविद् डा. हेमसागर बराल बताउनुहुन्छ। ‘नेपाली समाजले राम्रोसँग चिनेजानेको चित्रक सक्रिय मनसुनअघि तराईबाहेक उच्च पहाडी भेगमा पनि फाट्टफुट्ट देखिएको थियो तर उपत्यकामा भने यो पक्षी पहिलो पटक देखियो’, उनले भने । यो विचरणका क्रममा बाटो बिराएर मनोहरा आएको हुन सक्ने बरालको ठहर छ।

 

बरालका अनुसार सन् १९८८ जुलाई महिनामा ३ हजार ९६५ मिटर र सन् २०१३ को मे र जुन महिनामा हुम्लाको सिमकोटको र च्याक्पालुङबीचको भेगमा पनि भद्राई भेटिएको थियो । तराईका अन्य भेगको तुलनामा कोसी टप्पु वन्यजन्तु आरक्षमा यो पक्षी बाह्रैमास देख्न सकने उनले जानकारी दिए । १७ सेन्टिमिटर हाराहारीको भद्राईको सम्बन्ध नेपाली सांस्कृतिक पाटोसँग पनि जोडिएको छ । बच्चाको पास्नीका बेला सिकार गरिएको भद्राईको चुच्चोमार्फत खाना खुवाउने गरिन्छ। आफ्ना सन्तति फाट्टफुट्ट उड्दै चिरबिर चिरबिर गरिरहने भद्राईझैँ चलाख बन्न सकून् भन्ने उद्देश्यले यस्तो गर्ने गरिन्छ।

 

नेपालसहित दक्षिण एसिया, कतार, संयुक्त अरब इमिरेट्स ((यूएई), ओमान, तुर्केमिनिस्तानमा यो पक्षी अभिलेख भएको छ। विश्वमा भद्राईका विभिन्न ३३ प्रजाति र नेपालमा ६ प्रजाति पहिचान भएका छन् । पक्षीविद्हरूका अनुसार नेपालमा भद्राई, खैरो भद्राई, रातो भद्राई, हिमाली भद्राई, राज भद्राई र चित्रक अभिलेख भएका छन् । ६ प्रजातिमध्ये खैरो र रातो पुच्छ्रे भद्राई हिउँदयामका आगन्तुक पाहुना हुन् । चीन, मंगोलिया र उत्तरी ध्रुवमा चिसो बढेसँगै जाडो छल्न यी प्रजाति नेपाल र अन्यत्र बसाइँ सर्ने गर्छन् । मौसममा सुधार आएपछि आफ्नै थातथलो फर्किन्छन् ।

नेपालकै ४ हजार मिटर उचाइ हाराहारीमा पाइने हिमाली भद्राई हिउँदमा तराइतिर झर्ने गर्छन् तर बच्चा कोरल्ने समयमा उच्च भेगतर्फै फर्किन्छन्। तराईको रैथाने राज भद्राईलाई पक्षीविद्हरूले ‘विरलै भेटिने सूची’मा सूचीकृत गरेका छन् । यसैबीच गत वर्ष मनोहरामा भेटिएको ठूलो पानी गौँथलीले मनोहरामा बच्चा कोरलेको पाइएको छ। तराईका सिमसारहरूमा सहजै देखिने यो पक्षीले उपत्यकामा पहिलो पटक बच्चा कोरलेको विज्ञहरूको ठहर छ।

उपत्यकाका लागि ‘बटुवा’ सूचीमा सूचीकृत पानी गौँथली गत वर्ष उपत्यकामा ३८ वर्षपछि देखिएको थियो। बच्चा कोरलेपछि पानी गौँथली नियमित रूपमा मनोहरा र आसपासका भेगमा बस्न सक्ने विज्ञहरूको अनुमान छ।

 

 

 

 

Buzz Education

ताजा समाचार

सरकारी जग्गा संरक्षणमा सांसदले गराए सरकारको ध्यानाकर्षण

Madhyapur Diary

शाहरूख पुत्र आर्यन खान जमानतमा रिहा ।

Madhyapur Diary

नगदेशमा आयोजित गुँला धर्म नगर परीक्रमाले युवाहरुमा संस्कृति मोह बढाउंदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy