
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आफ्नो 25 औ स्थापना दिवस मनाएको छ । उक्त अवशरमा भक्तपुर जिल्लालाई कर्मभूमि बनाउँदै पत्रकारीता गर्दै आएका दुईजना पत्रकारहरू पुरस्कृत समेत बनेका छन ।पत्रकारहरू बाबाुकाजी साछेँ श्रेष्ठ र मोहन बल्ल पुरस्कृत हुनुभएको हो । पत्रकार श्रेष्ठले १० हजार नगद राशीको स्व. भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार र बल्लले २ हजार ५ सय रुपैंया नगद राशीको स्व. मैंयादेवी स्मृति पत्रकारिता पुरस्कार प्राप्त गर्नु भएको हो ।
आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सचिव नारायण सुन्दर किलम्बु र पुरस्कारका संस्थापकहरूले संयुक्तरुपमा उहाँहरुलाई सम्मान सहित पुरस्कृत गरेको हो ।
पुरस्कार प्राप्त गरेपश्चात बिगत लामो समयदेखि मध्यपुर क्षेत्रमा रहेर पत्रकारीतामा सक्रिय रहँदै आउनु भएका तथा मध्यपुर सन्चार समाजको बर्तमान अध्यक्ष समेत रहनुभएका बाबुकाजी साछें श्रेष्ठले आफूले प्राप्त गरेको पुरस्कार बाट निक्कै हौसला मिलेको बताउनु हुंदै बर्तमान समयमा पत्रकारहरूले सत्य, तथ्यमा आधारित भई निस्पक्ष ढंगले पत्रकारीता गर्नुपर्ने बताउनु भयो ।
उहाँले पत्रकार महांसंघको भवन निर्माणका लागि २५ हजार रुपैंया आर्थिक सहयोेग गर्ने घोषणा समेत गर्नुभयो । त्यस्तै अर्का पुरस्कृत व्यक्तित्व मोहन बल्लले पनि पुरस्कार वापतको रकम महासंघको भवन निर्माणको लागि शाखा अध्यक्ष प्रजापतिलाई हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पत्रकारितामा निरन्तर सक्रियताको जरूरी रहेको बताउनु भयो ।
प्रेस रजिस्ट्रार कार्यालय बागमती प्रदेशका रजिस्ट्रार रेवती सापकोटाले बर्तमान अवस्थामा सूचना प्रविधिले व्यक्तिलाई ग्लोबल बनाइसकेको बताउँदै अनलाइन पत्रकारले आफूलाई ग्लोबल पत्रकारको रूपमा लिएर पत्रकारिता गर्नुपर्ने आवश्यकता रहेको बिचार व्यक्त गर्नु भयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले पत्रकारसँग सहकार्य गरि भक्तपुरलाई समृद्ध बनाउन हातेमालो गर्दै अघि बढ्ने बिचार व्यक्त गर्नुभयो ।

