पुष – ११ मध्यपुर थिमि ८ बोडे स्थित अष्ट मंगल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नवौं बार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ ।बोडे माविको एसएलसी व्याच २०५५ का विद्यार्थीहरुको ४० जनाको समूहले शुरु गरेको अष्ट मंगल द्वारा गत आर्थिक वर्ष २०७७/०७८ मा ६ लाख २८ हजार ४३३ रुपैंया खुद नाफा आर्जन गरेको बताईएको छ । आयोजित सभामा शेयर सदस्यहरुलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ११ प्रतिशत लाभांश समेत वितरण गरेको छ ।
संस्थाका अध्यक्ष दिलकृष्ण प्रजापतिले सहकारी क्षेत्र वित्तिय प्रतिवेदन ढाँचा २०७६ अनुरुप आर्थिक विवरण बनाउनु पर्ने भएकाले सो अनुरुप विभिन्न ५ शिर्षकमा ३० प्रतिशत थप कोषमा छुट्याउनु परेकाले लाभांश ११ प्रतिशत मात्र वितरण गरेको बताउनु भयो ।
संस्थाका कोषाध्यक्ष श्याम सुन्दर चक्रधरले कोभिड–१९ का कारणले गरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारणले जनजीवन तथा सबै व्यवसायहरु प्रभावित भएकाले त्यसको असर सहकारीको वित्तिय कारोवारमा पनि देखिएको बताउनु भयो । उहाले आर्थिक बर्ष ७७/७८ मा संस्थाले १७ लाख ३२ हजार ८७५ रुपैंया व्याज आम्दानी गरेको जानकारी गराउनु भयो ।
प्रमुख अतिथि मेघा बैंक नेपालका निर्देशक डा. ईन्द्र बहादुर मल्लले कार्यक्रममा बोल्दै बैंक र सहकारी एक अर्काका परिपुरक भएको बताउनु हुँदै अनिश्चित भविष्यलाई सुनिश्चित गर्न वचत गर्ने बानी बसाल्नु पर्ने सुझाव दिँदैं मल्लले वचत गर्ने बानीलाई संस्थागत गर्न सके मात्र प्रतिफल पाउन सक्ने बताउनुभयो ।
पछिल्लो समय सहकारी क्षेत्रमा आकर्षक ब्याजदर दिने लोभका कारण बिकृति मौलाएको बताउँदै नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका जगत प्रजापतिले बदालिंदो समय र परिस्थितिमा निक्षेपकर्ता थप सजग र सचेत हुनुपर्ने कुरामा जोड दिनु भयो ।
मन्तब्यकै क्रममा मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका अशोक कुमार राईले संचालक समिति जतिकै सदस्यहरू पनि संस्थाप्रति बफादार हुनुपर्ने कुरामा जोड दिनुभयो ।
साधारण सभाको दौरान संस्थाका जेष्ठ नागरीक रत्न हरि चाँसी श्रेष्ठलाई नगद रु २००० सहित अभिनन्दन गरिएको थियो । सहकारीका स्थापना कालदेखि योगदान दिंदै आएकी डा. रश्मि श्रेष्ठलाई समेत उक्त कार्यक्रममा सम्मान गरीएको थियो ।