प्रायः फोन चार्ज गर्नका लागि रातको समय उपयुक्त मान्छौं । राति फोन चार्जमा लगाउँदा फूल चार्ज भयो वा भएन भनेर हेरिरहनु पर्ने झन्झट हुँदैन । त्यसबाहेक पनि बिहान फोन फूल चार्ज भएको देख्दा हामीलाई सन्तुष्ट मिल्छ । तर, यस्तो गर्दा ठूलो दुर्घटना हुनसक्ने भन्दै एप्पलले सावधानी अपनाउन अनुराेध गरेकाे छ ।
आईफोनको लागि महत्त्वपूर्ण सुरक्षा जानकारी दिने क्रममा एप्पलले चार्जिङकाे क्रममा सतर्कता अपनाउन सुझाव दिएकाे हाे । फोन चार्जमा लगाई नजिकै सुत्दा आगो लाग्ने, फोन विष्फोट हुने, इलेक्ट्रिक शक हुने, आईफोन लगायत अन्य सामग्री नष्ट हुनसक्ने कम्पनीकाे भनाइ छ ।
फोन सिरानी तल राखेको छ वा ब्ल्याङ्केटभित्र राखेर चार्जमा राखेकाे छ भने भेन्टिलेट (हावा प्रवाह) हुन नपाएर विष्फोट हुनसक्ने जाेखिम हुन्छ ।
https://www.facebook.com/ShivamCement
“पावर सोर्समा लगाएर डिभाइस, पावर एडप्टर वा वायरलेस चार्जरलाई बिस्तारा, सिरानी वा आफ्नो शरीर नजिक राखी नसुत्नुहोला । आफ्नो आईफोन, पावर एडप्टर, वा अन्य कुनै वायरलेस डिभाइस राम्रोसँग भेन्टिलेटेड हुने ठाउँमा मात्र राख्नुहोला । तपाईंले शरीरले फोन तातेको थाहा नपाउने अवस्था छ भने फोनलाई विशेष ख्याल गरेर त्यही अनुसार प्रयोग गर्नुहोस्,” कम्पनीले भनेकाे छ ।
एप्पलले आईफोनमा थर्ड पार्टी चार्जर प्रयोग गर्दा पनि आगलागीको जोखिम उच्च हुने चेतावनी दिएको छ । त्यसैले ‘मेड फर आईफोन’ केबल वा एडप्टर प्रयोग गर्न कम्पनीले सुझाव दिएको छ ।
एप्पलले भनेको छ, “आफ्नो आईफोन चार्ज गर्न तपाईं मेड फर आईफोन केबल तथा एडप्टर प्रयोग गर्न सक्नुहुन्छ । थर्ड पार्टी केबल वा एडप्टरको सन्दर्भमा पनि तपाईंले आफ्नो देशको नियामक निकाय र अन्तर्राष्ट्रिय स्तरबाट मान्यता प्राप्त एडप्टर प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक अन्य एडप्टरले सुरक्षा मापदण्ड पूरा नगरेका हुनसक्छन् । र त्यस्ता एडप्टरबाट चार्ज गर्दा दुर्घटनामा पर्ने जोखिम उच्च हुन्छ ।”