
पुष -१९- मध्यपुर थिमिको मिनी कोशी टप्पु नामले परीचित मनोहरा क्षेत्रमा यस बर्षको हिउँदे आगन्तुक पानीचराहरुको गणना कार्य सोमबार सम्पन्न भएको छ । पुष १८ बाट शालीनदी सांखु मनोहर क्षेत्रबाट शुरू भएको उक्त आगन्तुक जलपंक्षी गणना कार्य मध्यपुर ८ बोडे स्थित मिनी कोशी टप्पुमा पुगेर सम्पन्न भएको हो । ख्याति प्राप्त बन्यजन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी एवमं होटल ब्यबसायी संजय था श्रेष्ठ संयोजक रहेको राम चन्द्र मोयं श्रेष्ठ, गोपी श्रेष्ठ, पेम्बा शेर्पा, सुगम ताम्राकार,सत्यम पाठक र आयुशा पौडेल लगायतका पंक्षीप्रेमी तथा बन्यजन्तु फोटोग्राफरहरुको टोलीले जलपंक्षी गणना कार्य सफलता पूर्वक सम्पन्न गरेको हो । टोलीले जलपंक्षी सहीत १०६ प्रजातिका चराहरूको अभिलेखिकरण गर्न सफल भएको छ ।

गणनाकै दौरान टोलीले नेपालमा लोपोन्मुख प्रजातिमा सुचिकृत लोभीपापी गरुडको नामले परिचित (wolly necked stork )चरा समेत मनोहरा क्षेत्रमा भेटाउन सफल भएको छ भने अर्को लोपोन्मुख चरा गोमायू महाचील (Steppe Eagle ) पच्चिस वटाको संख्यामा भेटाउन सफल रहेको टोलीका संयोजक तथा बन्यजन्तु फोटोग्राफर संजय था श्रेष्ठले मध्यपुर डायरी संबाददाता लाई जानकारी दिए ।

प्रत्येक बर्ष जाडो छल्न मंगोलिया,साइबेरिया,तिब्वत, र युरोपबाट जलपंछी चरा नेपाल आउने गरेका छन । हाल चितवन लगायत देशका बिभिन्न ठाउँहरूमा आगन्तुक चराहरुको अभिलेखीकरण कार्य भईरहेको छ ।
विश्वब्यापी रूपमा समस्याको रूपमा रहेको ग्लोबल वार्मिङ को असर आंकलन गर्न बसाईसराई गरी नेपालका बिभिन्न सिमसार क्षेत्र तथा ततीय क्षेत्र एवंम नदि किनाराहरूमा पानीचराहरु जाडो छल्न तथा बच्चा हुर्काउन आउने चराहरूको पछिल्लो अवस्थाको बारेमा अभिलेखिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरीएको टोलीका संयोजक संजय था श्रेष्ठले बताए ।
३ दिन सम्म चलेको उक्त पानीचरा गणना कार्यक्रममा कतिपय अघिल्ला बर्षहरूमा देखिने गरेका चराहरू यो बर्ष नदेखिएको र कतिपय नँया प्रजातिका चराहरू पनि देखिएको श्रेष्ठको अनुभब छ ।

बढ्दो हरित गृह उत्सर्जन, शहरीकरण र प्रदुषणका कारण पछिल्लो समय चराहरूको बसाईसराई र आवतजावतमा परिवर्तन र असरहरू देखिंदै आएको टोलीमा संलग्न ख्यातिप्राप्त अर्का बन्यजन्तु फोटोग्राफर सुगम ताम्राकार बताउनु हुन्छ ।
सरकारी निकाय बाट अहिले देखिएको समस्या समाधानमा तत्परता देखाउनु पर्नेमा गणना कार्यमा सहभागी सदस्यहरूले जोड दिएका छन । यस अलावा स्थानीय निकाय एवम स्थानीय बासिन्दाहरूको पनि आगन्तुक पानीचराको संरक्षण कार्यमा उत्तिकै भूमिका हुने सहभागीहरू बताउँछन । जनचेतनाको अभाबमा कतिपय स्थानीय मानिसहरूले आगन्तुक पानीचराहरूको अबैध शिकार गर्ने, बासस्थानमा नोक्सान पुर्याउने आदि कार्यहरू हुँदै आएकोले स्थानीयमा यसबारेमा जनचेतना फैलाउन सके ठूलो टेवा पुग्ने उनीहरूको तर्क छ ।
मनोहरा क्षेत्रकै कुरा गर्ने हो भने पनि पछिल्लो समय एकातर्फ पंक्षी पर्यटनको सम्भाबना बोकि मिनी कोशी टप्पुको नामले ख्याति कमाउँदै गएको छ भने अर्को तर्फ नदि वरीपरी तीब्र गतीमा शहरीकरण हुँदै गएको र प्रदुषण का कारण माछा, भ्यागुता लगाएत किराफट्यांग्रा आदिको कमी हुन गइ यसरी आवधिक बसाई सराई गरी आउने चराहरू ठूलो संख्यामा कमी आएको देखिन्छ । ततीय क्षेत्रमा मानबिय गतिबिधिहरुको बृदि लगायत ठूलो समस्याको रूपमा रहेको बालुवा लगायतको नदिजन्य पैदावारको अबैद्य दोहनले आगन्तुक पानीचराहरू ठूलो समस्यामा परेको छ । मध्यपुर थिमि नगरपालिकाको हकमा पनि दैनिक सयौंको संख्यामा तस्करहरूले बालुवा चोरी निकासी गरीरहदा पनि कानमा तेल हाली बसेको व्यापक जनगुनासा आउने गरेका छन । एकातर्फ अवैद्य बालुवा तस्करीले स्थानीय पर्यावरणमा बिकराल समस्या ल्याईरहेको छ भने अदृश्य रूपमा करोडौंको राजस्व संकलन हुनबाट स्थानिय निकाय चुकिरहेको छ । यस तर्फ स्थानीय निकाय र निर्वाचित जनप्रतिनिधि हरुको ध्यानाकर्षणहुन आवश्यक छ ।

