मध्यपुर ८ बोडे स्थित द्यों मां जगत बृद्धाश्रमको आयोजनामा नेवारी परम्परा अनुशार छोरीचेलीको बेलबिवाह पश्चातको कर्मका रूपमा रहेको बारा : तयगु अर्थात गुफा राख्ने कार्यक्रम सम्पन्न भएको छ । बृद्धाश्रम परिसरमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ९० जना कन्या हरुको गुफा राखी निकाल्ने कार्य सम्पन्न भएको हो। नेवार परम्परा अनुशार बालिका किशोर अवस्थामा प्रवेश गर्ने क्रममा रजस्वला हुनु भन्दा अगाडी १२ दिन सुर्यको प्रकाश नदेखाई, लोग्ने मानिस नदेखाई कोठामा बन्द गरी राख्ने चलन रहेको छ ।
बदलिंदो समय अनुशार बर्तमान अवस्थामा कतै ६ दिन त कतै ४ दिन मात्रै राखेर बारा पिकाएगु ( गुफा निकाल्ने )चलन प्रचलित बन्दै गएको छ । छोरी चेली को यो कर्म पश्चात बालिका बाट बयस्कमा प्रवेश गरेको भनि बुझ्नु पर्ने जानुकारहरु बताउँछन । यस अवस्थामा बन्द अवस्थामा रहंदा घरका अगुवा आईमाईहरूले छोरीचेलीलाई जीवन र जगत अनि ब्यबहारीक जीवनका बिबिध ज्ञान प्रदान गर्ने प्रचलन पनि रहिआएको बताइन्छ।

घों मा जगत बृद्वाश्रम द्वारा आज भन्दा १५ बर्ष अगाडी देखि नै सामाजिक भावनाले प्रेरीत भएर सामुहीक बाराः राख्ने कार्य गदै आएको आयोजक संस्थाका उपाध्यक्ष सुर्यमान साहुखलले बताउनु भयो । शुरूमा १० – १५ जना कन्याहरुबाट शुरू भएको यो कार्य हाल आएर ९० जनाको संख्यामा पुगेको उहाले बताउनु भयो । सामूहीक गुफा कार्यक्रम बाट उठेको रकम बृद्धाश्रमको कोषमा जम्मा हुने पनि उहाले बताउनु भयो ।
मध्यपुरको वडा न ८ बोडे मा आयोजना गरीएको उक्त कार्यक्रममा सहभागिता जनाउन मध्यपुर थिमिका बिभिन्न स्थानहरूका अलावा भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धाडिङ र दोलखा आदी स्थानहरूबाट समेत सहभागीहरू आएको बताईएको छ ।
सामुहीक गुफा कार्यक्रम रहेको थाहा पाएर भक्तपुरको कटुन्जे बाट सहभागिता जनाउन आएका भाईकाजी गोसाईले सामुहीक गुफा कार्यक्रम ले समय र पैसाको बचत हुने भएकोले बर्तमान समयमा निक्कै नै सान्दर्भिक रहेको बताउनु भयो ।
