समाचार समाज

काष्ठमण्डप पुन निर्माण अन्तिम चरणमा

सातौँ शताब्दीमा निर्मित वसन्तपुर दरबार क्षेत्रस्थित काष्ठमण्डपको पुनर्निर्माणको सम्पूर्ण काम यसै महिनाभित्र पूरा हुने भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधारको कामलाई अहिले अन्तिम रूप दिने कार्य धमाधम भइरहेको छ ।
काष्ठमण्डपको गजूर राख्ने कामसमेत सम्पन्न भइसकेको छ । अहिले छोपेर राखिएको गजूर काष्ठमण्डप उद्घाटनको दिन खोलिने काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ । गजूर तामाले निर्माण गरिएको छ । समितिका संयोजक राजेश शाक्यले काठमाडौँ उपत्यकाको इतिहास र परिचयसँग जोडिएका काष्ठमण्डपको पुनर्निर्माणको कार्य अबको तीन हप्ताभित्र पूर्ण रूपमा सम्पन्न हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरिरहेका छौँ, जुन अब अन्तिम चरणमा छ । पुनर्निर्माणसँगै करिब १४ सय वर्ष पुरानो हाम्रो इतिहास पुनः ठडिएको छ ।”
यसै महिनाभित्र पुनर्निर्माणको काम सम्पन्न गरी त्यसको उद्घाटनको तयारी गरिने बताउँदै उहाँले भन्नुभयो, “काष्ठमण्डपको उद्घाटन भूकम्प गएकै दिन वैशाख १२ गते गर्ने कि त्यसअघि गर्नेबारे अहिले छलफल भइरहेको छ ।” सो विषयमा टुङ्गो लागेपछि राष्ट्रपति वा प्रधानमन्त्रीबाट उद्घाटन गराइने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “१२ हजार क्युफिट सालको काठ र ठूलो र सानो आकारको गरी करिब दुई लाख थान माःअप्पा इँटको प्रयोग गरी काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न हुन लागेको हो । ठूलो र सानो आकारको गरी दुई लाख थान माःअप्पा इँटा लागेको छ । ठूलो आकारको ९० हजार र सानो आकारको एक लाख १० हजार थान इँटा रहेको छ ।” सबै काठ बारा, पर्सा, रौतहट, महोत्तरीको जङ्गलबाट मगाइएको संयोजक शाक्यले जानकारी दिनुभयो ।

बिज्ञापन
बिज्ञापन

काष्ठमण्डप निर्माणमा पूूर्ण रूपले साताँै शताब्दीकै शैली र प्रविधि प्रयोग गरिएको बताउँदै उहाँले माटो र त्यसबेला प्रयोग गरिएका सामग्री प्रयोग गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सातौँ शताब्दीमै प्रयोग गरिएको साइजको इँटा प्रयोग गरेका छौँ, समितिले इँटा निर्माण कम्पनीलाई विशेष आग्रह गरी साताँै शताब्दीकै साइजको इँटा निर्माण गर्न लगाएको छौँ ।” उहाँले मात्र काठ, माटो र इँटको प्रयोग गरेर काष्ठमण्डपको पुनर्निर्माण गरिएको स्पष्ट पार्नुभयो । पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा चार घेराको सयवटा थाम राखिएको छ । सङ्कल्प पूजा गरेर ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । चारवटा मूल थाममध्ये एउटा एघार सय वर्ष पुरानो रहेको उहाँले बताउनुभयो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइएको छ । तेस्रो र चौथो घेरामा एक÷एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिएको संयोजक शाक्यले जानकारी दिनुभयो । तीन तलाको अबको काष्ठमण्डप भूकम्प प्रतिरोधी क्षमताको निर्माण गरिएको उहाँले बताउनुभयो । संयोजक शाक्यले भन्नुभयो, “एउटै रुखको काठबाट बनेको सत्तलको नामबाट नै काठमाडौँको नामकरण भएको गरिएको विश्वास गरिन्छ । यसअघि १२औँ शताब्दीमा बनेको विश्वास गरिए पनि यो वर्ष बेलायतको दुराहम विश्वविद्यालय र पुरातìव विभागले गरेको अध्ययनले काष्ठमण्डप सातौँ शताब्दीमा निर्माण भएको प्रमाणित भइसकेको छ ।”
कुल १२ करोड रुपियाँको लागतमा निर्माण हुने अनुमान गरिएको छ । सो रकम काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई उपलब्ध गराइसकेको हो । पुनर्निर्माणका लागि महानगरपालिका र पुनर्निर्माण समितिबीच २०७५ वैशाख २९ गते सम्झौता भई कात्तिक २२ गतेदेखि काम सुरु गरिएको थियो ।

गोरखापत्र दैनिक बाट

ताजा समाचार

मध्यपुर थिमिमा बिरेन्द्र भक्तले छेडाए जिब्रो दोस्रो पटक ।

Madhyapur Diary

आज बिजया दशमी – टिकाको साईत बिहान १० बजेर २ मिनेट

Madhyapur Diary

मध्यपुरमा प्रमुख मदन सुन्दर श्रेष्ठले दोस्रो कार्यकालका लागि उम्मेदबारी दर्ता ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy