असोज २ -पाकिस्तानको पख्तुनख्वाको एबटावाद सहरमा एक महिलाले एकै पटक सात बच्चा जन्माएकी छिन् । ऐबटाबादको जिन्ना इन्टरनेशनल अस्पतालमा एक महिलाले एकै पटक चार छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् ।
अस्पतालले दिएको जानकारीअनुसार सबै बच्चा र आमाको अवस्था स्थिर छ । पिता बनेका यार मोहम्मदले सात सन्तान एकै पटक प्राप्त भएकोमा खुशी व्यक्त गरे । यसअघि नै उनका दुई छोरी छन् ।
अस्पतालकी डाक्टर हिना फेयाजका अनुसार जाँचबाट महिलाको पेटमा कम्तीमा पाँच बच्चा रहेको थाहा भएको थियो । साथै महिलाको रक्तचाप पनि उच्च थियो । यस्तोमा शल्यक्रियाबाटै बच्चा जन्माउनु उचित हुन्थ्यो । उनकाअनुसार शल्यक्रिया करिब एक घण्टासम्म चलेको थियो ।
डाक्टर फेयाजकाअनुसार महिलाले गर्भाधारण हुने औषधि लिएकी थिइन् । त्यसैले एकभन्दा धेरै बच्चा बसेका हुन् । उनले यस्ता औषधि खाँदा विशेषज्ञ डाक्टरको परामर्श अनिवार्य लिन सुझाएकी छिन् । एकभन्दा धेरै बच्चा बस्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउन सक्ने उनको भनाइ छ ।
ऐजेन्सी –