
मध्यपुर थिमि, भक्तपुर मध्यपुर थिमि नगरपालिकाले विद्यालय क्षेत्रलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यले सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री-वितरणमा कडा निगरानी सुरु गरेको छ। नगरपालिकाको पछिल्लो निर्णयअनुसार अब विद्यालय पोशाकमा रहेका कुनै पनि विद्यार्थीलाई चुरोट, सुर्ती, गुट्खा र मदिरा जस्ता वस्तु बिक्री गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। पछिल्लो समय ससाना स्कुले बालबालिकाहरु समेत बिद्यालय पोशाकमा चुरोट ,सुर्ती लगायतका नशालु पदार्थहरुको बिद्यालय वरपरका चिया पसल , किराना पसल ,क्याफे लगायत सार्बजनिक स्थानहरुमा समेत निर्धक्क खरिद तथा सेवन गर्ने गरेको ब्यापक जनगुनासो पश्चात नगरपालिकाले उक्त निर्णय लिएको हो । अब यसरी पसल ब्यबसाय तथा क्याफे संचालक हरुले बिद्यालय पोशाकमा बिधार्थीहरुलाई चुरोट , गुट्खा र सुर्तीजन्य पदार्थ बिक्रि तथा सेवन गराएको पाइएमा सिधै व्यवसायीलाई नै कारबाही गर्ने भएको हो । त्यसो त यो अभिभाबक तथा शिक्षक एवं बिद्यालयहरुको पुरानो गुनासो र माग हो । तर उचित नियम कानुन ,निरीक्षण र अनुगमनको अभाबमा मध्यपुर थिमि क्षेत्रमा यो समस्या जल्दो बल्दो समस्याका रुपमा रहदै आएको थियो । यो निर्णयले कतिपय अभिभावाक तथा बिद्यालयलाइ खुशी बनाएको छ । यदि कसैले विद्यालय पोशाकका विद्यार्थीलाई सुर्ती वा मदिराजन्य पदार्थ बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कानुनी प्रक्रिया अगाडि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ। नगरपालिकाले विद्यालय वरपरका पसल, होटल, किराना व्यवसाय र अन्य व्यापारिक केन्द्रहरूमा नियमित अनुगमन गर्ने तयारी गरेको छ। विद्यालय क्षेत्र वरपर विद्यार्थीलाई लक्षित गरी यस्ता घातक वस्तुहरू बिक्री भइरहेको गुनासो बढेपछि नगरपालिकाले यो कदम चालेको हो।

