Uncategorized

प्राकृतिक झरना वा छहरो पर्यटक लोभ्याउने म्याग्दी झरना

प्राकृतिक झरना वा छहरो पर्यटक लोभ्याउने म्याग्दी झरना
Buzz Education

म्याग्दी– पहाडको टुप्पोबाट तल जमिनतिर छङ्छङ आवाज निकाल्दै बग्ने गर्छ झरना । अग्लो ठाउँबाट हुत्तिँदै खसेको पानीको छाँगोलाई नै हामीले झरना भनेर चिन्छौं । प्राकृतिक वा मानवनिर्मित छहरो नै झरना हो । कलकल गर्दै बग्ने झरना भीर तथा पहराको साहारा लिएर जमिनतिर खस्छ । छङ्छङ गर्ने आवाजसँगै झरनाको चिसो पानी ।माथिबाट भिरालो पहाडमा लडबडी खेल्दै बगेको झरनालाई एकोहोरो हेरिरहँदा सिरको टोपी र पछ्यौरी खसेको पत्तो हुँदैन । झरनासँगै साइटसिनमा आँखा घुमाउन पाउँदा निकै आनन्द लाग्छ । अझै झरनाको पानीमा डुबुल्की मार्दा झन् मज्जा आउँछ । एकनासले माथिबाट तलतिर खसिरहने निकै सुन्दर, आकर्षक अनि मनमोहक म्याग्दीको नर्जा झरना जति हे¥यो उति हेरिरहुँ जस्तो लागिरहन्छ ।नर्जा झरनाभन्दा माथि तोस्काटे भन्ने ठाउँ पर्दछ भने तलतिर दाँयाबाया मुना र लुलाङ गाउँ अवस्थित छ । भिरालो परेको पाखो र नर्जा ठाउँबाट भीर पहराको सहारा लिँदै बगिरहने नर्जा झरनाको फेदीमा पुग्ने हो भने धित मरुन्जेल झरनालाई हेरेर रमाउन पाइन्छ । हिमाली जिल्ला म्याग्दीमा यस्ता झरनाहरु थुप्रै छन् । कतिपय झरनाहरु वर्षायाममा मात्रै सुस्साउँछन् भने केही झरना बाह्रैमास सुस्साइरहन्छन् । त्यहीमध्येको एक हो, नर्जा झरना पनि । नर्जा झरनाको बारेमा जानकारी पाउनेहरु सायद कमै होलान् ।घाम परेको समयमा इन्द्रेणीका रङहरु समेत देख्न सकिने यस झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ । झरनाकै कारणले गर्दा पर्यटकको चहलपहल बढेको स्थानीयवासीले बताएका छन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–२, लुलाङ र ३ नम्बर वडा मुनाको सिमानामा पर्ने नर्जा झरना हेर्दा निकै सुन्दर, आकर्षक र मनमोहक देखिन्छ । लुलाङ र मुना गाउँको माथिल्लो सिमानाबाट बग्ने नर्जा झरनाभन्दा माथि मानव वस्ती नभएको हुँदा झरना एकदमै सफा र कञ्चन छ । पछिल्लो समय शनिबार तथा विदाको दिन झरनामा रमाउन धेरै पर्यटकहरु पुग्ने गर्दछन् ।धवलागिरि गाउँपालिकामा विभिन्न कार्यक्रम लिएर जानेहरु एकैछिन भए पनि झरनामा पुगेर फर्किन्छन् । झरनालाई पृष्ठभूमीमा पारेर सेल्फी फोटो र भिडियो खिच्न तथा टिकटक बनाउन भन्दै पर्यटकहरु नर्जा झरनामा जाने गर्छन् । झरनामा पुगेर मोबाइलमा टिकटक र रिल्र्स बनाउनेहरुको पनि अहिले भीड लाग्ने गरेको छ । गर्मी छल्न समेत मानिसहरु त्यस झरनामा जाने गरेको स्थानीयवासी बताउँछन् । गूर्जा र चुरेन हिमाल जाने पदमार्गअन्तर्गत नर्जा झरना पर्दछ ।आन्तरिक पर्यटक भूपेन्द्र भण्डारीले झरनामा पुगेर रमाउन पाउँदा आफूले निकै आनन्दको अनुभूति गर्न पाएको अनुभव सुनाउनुभयो । उहाँले झरनाको बारेमा वर्णन यसरी गर्नुभयो, ‘यो झरना एकदमै सुन्दर छ । सरसर्ती हेर्दा मैले आनन्दको अनुभूति गरेँ । फोटो खिचियो, नाचियो र रमाइलो पनि गरियो । यहाँ आन्तरिक मात्रै होइन बाह्य पर्यटनको पनि धेरै ठूलो सम्भावनाको ठाउँ रहेको छ । त्यसकारण यसलाई स्थानीयस्तरबाट नै संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिन्छ ।’धवलागिरि गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुमध्ये एक मानिने नर्जा झरना प्रचारप्रसार तथा भौतिक पूर्वाधार नबन्दा ओझेलमा परेको छ । पर्यटकीय सम्भावना बोकेको यस झरनामा पर्यटकलक्षित भौतिक पूर्वाधारहरु बनाउन सकेमा धवलागिरि गाउँपालिकाको समेत पर्यटन प्रवद्र्धन हुने देखिन्छ ।पर्यटकीय सम्भावना बोकेको नर्जा झरनाको पर्यटन प्रवद्र्धन गर्नको लागि आवश्यक पहल गरिने धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

Buzz Education

ताजा समाचार

ललितपुरको ग्वार्को मा स्कुटर दुर्घटनामा युवकको मृत्यु ।

Madhyapur Diary

पेट्रोलियम पदार्थमा बढ्यो फेरी मूल्य ।

Madhyapur Diary

एक अर्ब लगानीमा चितवनको पतिहानीमा रिसोर्ट सञ्चालनमा आउँदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy