
फागुन – १७ – मध्यपुर थिमिको ऐतिहासिक तथा पौरानिक नाचका रूपमा रहेको भैरब नाच : अर्थात भैल : प्याख : आउँदो २०८० सालमा मध्यपुर थिमि नगरपालिका वडा न ५ स्थित चपाचो टोलबाट आयोजना हुने भएको छ । करिब ३० बर्ष पछी चपाचो टोलबाट आयोजना हुने भएको हो । सम्पूर्ण चपाचोबासीहरुको सामुहीक छलफल पश्चात उक्त नाच २०८० सालका लागि चपाचो बासीहरूले आयोजना गर्न लागेको स्थानीयबासी तथा आयोजक तर्फका राम चन्द्र प्रजापतिले मध्यपुर डायरी संबाददातालाई जानकारी दिनु भयो ।
मध्यपुर थिमिको ऐतिहांसिक भैलः प्याखं मध्यपुर थिमिको ईतिहास बोकेको एक प्रसिद्ध र ऐतिहासिक तान्त्रीक महत्व बोकेको नाच हो । तान्त्रिक विधिबाट नचाईने यस नाचमा दुईजना भैरब, दुई जना कुमारी अर्थात दागीं र एक ज्यापुंग रहने गर्दछ । तान्त्रिक एवं ऐतिहासिक भैरव नाच भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि पञ्चमीसम्म सञ्चालन हुने गर्दछ ।भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, ताय् भएको भाँडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउँभाउँ प्रस्तुत गर्दै नाच्ने परम्परा रहेको छ । ४५ बर्ष सम्म सञ्चालनमा आउन नसकेको यो नाच स्थानीय सरकारमा जनप्रतिनिधि आउन थालेपछी पुन सञ्चालनमा आउन थालेको हो । मध्यपुर थिमिमा श्रेष्ठ समुदायबाट लायकु भैल : को रूपमा नचाइन्छ भने प्रजापति समुदाय बाट पनि बिभिन्न टोलटोलमा यो नाचको आयोजना गर्ने गरीन्छ ।
नाचको क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने गरीन्छ ।
ठूलो धनराशी र तयारी आवश्यक रहने हुंदा यो नाच आयोजना गर्न सजिलो नभएको जानुकारहरु बताउँछन । तर पनि पछिल्लो समय युवा पुस्ता पुर्खाले सुम्पेको यो ऐतिहासिक नाच आयोजना गर्न उत्साहीत हुने गरेका छन ।
“चपाचो टोलबाट यस अघि करिब ३० बर्ष अघि मात्रै आयोजना गरीएको थियो । टोलबासीको छलफल पश्चात यस पटक चपाचो टोलबाट आयोजना गर्न पाउँदा हामी निक्कै उत्साहीत र खुशी छौ “आयोजक टोलबासी रामचन्द्र प्रजापतिले बताउनु भयो ।
अर्का टोलबासी श्याम प्रजापतिले भैरब नाच आफ्नो टोलबाट प्रदर्शन हुने भएसंगै आफु लगाएत सबै टोलबासी उत्साहित भएको र अग्रीम रुपमै सबै पक्षको तयारी गदै लगिने बताउनु भयो ।

