
असोज २, नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ ।माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने बुधबार रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । आज ३१ घडी ४६ पला अर्थात् बेलुकी ६ः४९ बजेसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको पन्चाङग निर्णायक समितिले जनाएको छ । बुधबार पूर्णिमा तिथि ३३ घडी ५३ पला अर्थात् बेलुकी ७ः४० बजेसम्म छ ।आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।

